६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

बीस अर्ब प्रकरणमा टेलिकम सम्बद्ध कर्मचारी संगठनको धर्ना निरन्तर

नागरिक पोष्ट

शुक्रबार, २१ बैशाख २०८१

1344 views

1344 views

बीस अर्ब प्रकरणमा टेलिकम सम्बद्ध कर्मचारी संगठनको धर्ना निरन्तर

काठमाडौँ । नेपाल टेलिकमको जीएसएम सेवा नवीकरणका लागि एकैपटक २० अर्ब रुपैयाँ तिर्नुपर्ने नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) गरेको निर्णयविरुद्ध उत्रिएका टेलिकम क्षेत्रसम्बद्ध कर्मचारी संगठनहरुको धर्ना निरन्तर रहेको छ । 

 

बिहीबारदेखि थालेको धर्नाले शुक्रबार पनि निरन्तरता पाएको हो । उनीहरुले टेलिकम निमित्त प्रबन्ध निर्देशकको कार्यकक्ष बाहिर धर्ना दिएका हुन् । 

नेपाल टेलिकम अन्तर्गतका संगठनहरु एनटीईएएन, एनटीसीडब्ल्यूयू, एनटीईयू र एनईओएन–एनटीले संयुक्त रुपमा निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीको कार्यकक्ष बाहिर धर्ना दिएका हुन् । 


उनीहरुले जनताको पैसाले बनेको टेलिकमलाई धरासायी बनाउन नपाइने भन्दै कुनै पनि हालतमा एकैपटक २० अर्ब रुपैयाँ दिन नहुने बताएका हुन् । 

मन्त्रिपरिषद्को बैठकले समेत किस्तामा रकम तिरे हुने बताइरहेका बेलामा एकैपटक तिर्ने चलखेल भएको भन्दै पहाडीको कार्यकक्ष बाहिर बिहीबार धर्ना दिएका हुन् । 

प्राधिकरणको बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको कर्मचारी संगठनहरुको भनाइ छ । 

जीएसएम सेवा सञ्चालन गर्ने कम्पनीले शुरुमा अनुमति पाएको १० वर्ष र त्यसपछि पाँच–पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने र यसको लागि २० अर्ब रुपैयाँ तिर्नुपर्ने कानूनी व्यवस्था छ ।

तर एकैपटक सबै रकम जुटाउँदा कम्पनीको वित्तीय व्यवस्थापन अप्ठेरो हुने भन्दै सरकारले टेलिकम कम्पनीहरुलाई किस्ताबन्दी सुविधा उपलब्ध हुँदै आएको थियो । यो सुविधा खारेज गरेर एकमुष्ट रुपमा शुल्क लिन लागिएको ती संगठनहरुको आरोप छ । 

यस्ता छन् २० अर्ब नवीकरण दस्तुरबारे कर्मचारीले आँकलन गरेका केही तथ्यहरु
१, लाइसेन्सको नवीकरण दस्तुर एनटीए र सेवा प्रदायकबीच वार्ताबाट सहमति गरेर तोकिने व्यवस्था ऐनमा छ । यहाँ कुनै सहमति भएको छैन । 
२,  नेपाल दूरसञ्चार संस्थान २०६१ सालमा कम्पनीमा परिवर्तन भएको हो । २०६४ मा मात्र शेयर जारी गरेको हुँदा त्यसपछिमात्र निजी क्षेत्रको लगानी भएको देखिन्छ । २९५६ देखि २०६४ साल सम्मको अवधि नेपाल सरकारको पूर्ण स्वामित्व र नियन्त्रणमा भएको हुँदा सञ्चार ऐनको दफा १८ बमोजिम सरकारले सेवा चलाएको अवधिको गणना गर्न मिल्दैन । 

३, नेपाल टेलिकमले सर्वसाधारण शेयर निष्काशन गर्दा लाइसेन्स नवीकरणको २० अर्ब दायित्वका बारेमा विवरणपत्रमा कतै उल्लेख भएको थिएन । आह्वानपत्रमा जानकारी नभएको दायित्व नयाँ आउने शेयरधनीलाई तिर्न बाध्यता हुँदैन । यो विषय कम्पनी ऐनको दफा २३ र २४ विपरीतको कार्य हो । 

४, २०५६ सालमा दूरसञ्चार प्राधिकरणसँग तत्कालीन महाप्रबन्धकले गरेको सहमतिलाई दूरसञ्चार प्राधिकरणले करारको रुपमा मानेको छ । करार एैन २०५६ अनुसार अस्वभाविक करार, अस्पष्ट करार र करार गर्न अयोग्य व्यक्तिले गरेको करार दफा १३ अनुसार स्वतः बदर हुने व्यवस्था छ । तत्कालीन महाप्रबन्धकको २० अर्ब रकममा हस्ताक्षर गर्ने अधिकार नभएको हुँदा सो करार स्वतः बदर हुन्छ । 

५, मोबाइल सेवा बाहेकका अन्य सम्पूर्ण दूरसञ्चार सेवाको अनुमति लिन लाग्ने रकमको ९० प्रतिशत रकम मात्र नवीकरण बापत लाग्ने कानूनी व्यवस्था छ । मोबाइल सेवाको लागि ऐनमा स्पष्ट व्यवस्था नभएको हुँदा नीतिगत स्पष्टता नहुँदासम्म अरुले कबुल गरेको रकम तिर्न दूरसञ्चारले बाध्य बनाउनु नियामक निकायको अव्यवहारिक र अपरिपक्वता हो । 

६, संसदको सार्वजनिक लेखा समिति र मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले एक पटकका लागि तिर्ने र आगमी दिनमा नीति बनाएर मात्र नवीकरण दस्तुर तोक्ने निर्देशन गरेको भएता पनि सो अनुसार हालसम्म नीति तथा कानून बनेको छैन । त्यसकारण टेलिकमले हचुवाको भरमा तिर्ने कुरा हुँदैन ।

७, प्रविधिको परिवर्तनका कारण भ्वाइस सेवा निःशुल्क हुने र डाटा सेवाबाट मात्र सेवा प्रदायकको आम्दानी हुने व्यवस्था छ । अन्य प्रविधिबाट इन्टरनेट सेवा थोरै रकममा लाइसेन्स लिएर थोरै नवीकरण तिरेर आम्दानी गरिरहेको अवस्था छ । अबका दिनमा डाटाको लागि मात्र प्रयोग हुने मोबाइल सेवाको लागि २० अर्ब नवीकरण तिर्नु घाटाको व्यापार हुन सक्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका